एमाले अध्यक्ष ओलीलाई बयानको लागि पत्र काट्ने कार्की आयोगको तयारी


काठमाडौं, १७ पुस । भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने भएको छ । आज (बिहीबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले ओलीलाई बयानका लागि बोलाउन पत्र काट्ने तयारी भइरहेको बताएका हुन् ।

गत भदौ २३ र २४ गते जेन–जी आन्दोलन हुँदा ओली नेपालको प्रधानमन्त्री थिए । आयोगका अध्यक्ष कार्कीले भने, ‘बयानका लागि ओलीलाई बोलाउने क्रममा छौं । अब हामी उहाँलाई चिठि काट्दैछौं ।’

आयोगका अध्यक्ष कार्कीले निवर्तमान गृहमन्त्री रमेश लेखकको बयान सकिएको पनि जानकारी गराए । बयान सकिएलगतै लेखकमाथि लगाइएको स्थान हद फुकुवाको तयारी भइरहेको पनि बताइएको छ । आयोगले थप गरिएको म्यादभित्रै सरकारलाई प्रतिवेदन बुझाउने पनि कार्कीले बताए ।

एमाले अध्यक्ष ओलीले भने आफू बयानका लागि नजाने बताउँदै आएका छन् । ओलीले आयोग असंवैधानिक रहेको दाबी गर्दै आएका छन् । एमाले अध्यक्ष अ‍ोली कार्की आयोगमा बयान दिन जाने वा नजाने भन्ने विषयलाई निकै चासोका साथ हेरिएको छ ।