राष्ट्रिय बाणिज्य बैंक र गरुड सेक्युरिटिजको मिलेमतोमा ८५० सुरक्षा श्रमिकको रोजीरोटी खोसिएको भन्दै नेष्टको आपत्ति, केन्द्रीय कार्यालयमा धर्ना दिने चेतावनी


काठमाडौं, १८ पुस । नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन (नेष्ट) ले राष्ट्रिय बाणिज्य बैंक लिमिटेड र गरुड सेक्युरिटिजले बैंकमा कार्यतर ८ सय ५० जना सुरक्षा श्रमिकलाई हटाएको भन्दै आपत्ति जनाएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सुरक्षा श्रमिकको रोजगारी, सेवा निरन्तरता र अदालतको आदेश पालनाको विषयमा सरोकारवालाहरुको ध्यानाकर्षण गराएको हो । गरुड सेक्युरिटिजलाई टेण्डर परेपछि केही दिनअघिदेखि बाणिज्य बैंकमा आफ्ना नयाँ सुरक्षाकर्मी पठाएको छ । यसअघि बैंकमा सुरक्षा दिँदै आएका सुरक्षा श्रमिक पनि अहिले सोही बैंकमा डिउटी गरिराखेको बताइएको छ ।

गरुड सेक्युरिटिज र राष्ट्रिय बाणिज्य बैंकको उक्त कार्य अन्यायपूर्ण र श्रमिक विरोधी रहेको भन्दै युनियनले आपत्ति जनाएको छ । युनियनले श्रमिक आपूर्तिकर्ता परिवर्तन भए पनि श्रमिकको रोजगारी, सेवा निरन्तरता र जीविकोपार्जनको अधिकार सुरक्षित हुनुपर्ने बताएको छ । नेपालको संविधानको धारा ३४ मा श्रमको हकलाई मौलिक अधिकारको रुपमा प्रत्याभूत गरिएको अवस्थामा ड्यु्टीमा खटिएका श्रमिकलाई जबर्जस्ती हटाउनु अन्यायपूर्ण हुने युनियनले बताएको छ ।

‘हामी बैंक र गरुड सेक्युरिटिज दुवैलाई न्यायलयको आदेशको सम्मान गर्न, कानूनी प्रक्रियाप्रति प्रतिवद्ध गर्न र श्रमिकहरुप्रतिको सम्मान कायम गर्न आग्रह गर्दछौं,’– युनियनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

युनियनले सुरक्षा श्रमिकहरुलाई शान्त, संयमित र जिम्मेवार रहँदै तोकिएको ड्युटी नछाड्न भनेको छ । नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन (नेष्ट) का अध्यक्ष प्रेम कार्कीले उच्च अदालत पाटनले टेण्डर प्रक्रिया कार्यान्वयन नगर्नु भन्ने आदेश दिएको बताए । सो मुद्दामा उच्च अदालत पाटनले आगामी पुस २० गते पेशी तोकेको पनि उनले बताए । त्यहाँ भएका पुराना सुरक्षा श्रमिकलाई निकाल्ने र नयाँ मान्छे लगेर राख्ने काम भएको उनले बताए । बाणिज्य बैंकमा कुनै घटना घटेको खण्डमा को जिम्मेवार हुने भन्ने प्रश्न उठेको उनले बताए ।

सुरक्षा श्रमिकहरु राष्ट्रिय बाणिज्य बैंकबाट विस्तापित हुने अवस्था आयो भने राष्ट्रिय बाणिज्य बैंकको केन्द्रीय कार्यालयको प्राङ्गणमा आएर हामी धर्ना बस्छौं । गरुड सेक्युरिटिजको गेटमा पनि हामी आएर धर्ना बस्छौं । श्रमिकको रोजीरोटी खोस्न पाइँदैन । यो मौलिक हक हो । क–कसलाई ठेक्का पर्यो, हामीलाई सरोकार भएन । वर्षौदेखि बाणिज्य बैंकमा कार्यरत श्रमिकको रोजीरोटी खोस्न पाइँदैन । यो मानवअधिकारको उल्लङ्घन पनि हो,’– अध्यक्ष कार्कीले भने ।