कुलमान घिसिङ रास्वपामा प्रवेश गरेकोबारे सरकार बेखबर


काठमाडौं, १८ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ मा जसरी पनि निर्वाचन हुने बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले निर्वाचन निष्पक्ष र धाँधलीरहित ढङ्गबाट हुनेमा बताए ।

‘निर्वाचन आयोगले द्रुत गतिमा काम अघि बढाइरहेको छ । पछिल्लो आधार समानुपातिकको बन्द सूचीमा ६४ वटाभन्दा बढी दलहरुले बन्द सूची बुझाइसकेका छन्,’– उनले भने ।

१० लाख बढी नयाँ मतदाता मतदाता नामावलीमा दर्ता भइसकेको अवस्था रहेको भन्दै उनले सुरक्षा निकायमा नयाँ नेतृत्व आइसकेर प्रहरीको मनोबल उच्च भएको बताए ।

सरकारले निर्वाचनका लागि जनशक्तिसहित पर्याप्त बजेट छुट्याई सकेको उनको भनाइ थियो । दलहरु जिल्ला जिल्लामा प्रचारमा लागेको उल्लेख गर्दै उनले भने, ‘पार्टीका झन्डा देखेर मतदान दिनुस् भन्न थालिएको छ । प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा समेत दलहरु लागिसकेका छन् ।’

जनस्तरदेखि मिडियासम्म प्रश्नदेखि जवाफसम्म निर्वाचन केन्द्रित भइरहेकाले निर्वाचन नहुनेमा द्विविधा नभएको उनको भनाइ थियो । सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले आफू अहिले नागरिक सरकारको प्रवक्ता भएको भन्दै अहिलेसम्म कुनै पनि पार्टीमा नरहेको स्पष्ट पारे । उनले भने, ‘चुनाव लड्ने, नलड्ने भन्ने कुनै निर्णय मैले गरेको छैन ।’

सरकारले दलका कार्यालयहरु गएर भेटेर बोलाएर चुनावको वातावरण बनाइरहेको उनको भनाइ थियो । उनले भने, ‘म मन्त्रिपरिषद्को सदस्य भएको नाताले निर्वाचन कसरी गर्ने भन्ने विषयमा प्रधानमन्त्रीलाई सघाउने हो । निष्पक्ष, धाँधलीरहित र स्वतन्त्र निर्वाचन गर्ने कुरामा हामी लागेका छौँ ।’

सरकारले सुशासन कायम गर्ने कुरासँगै भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा केही आधारशिलाहरु अघि बढाएको उनले बताए । अर्को प्रसङ्गमा उनले अहिलेका मन्त्रीहरुले निर्वाचनमा उम्मेदवार हुने नहुने कुरा एउटा व्यक्तिका अधिकारको कुरा भएको बताए । उनले भने,‘चुनाव लडिराख्दा महत्वपूर्ण पदमा छ भने त्यो पदको दुरुपयोग गर्नु हुँदैन । एउटा व्यक्तिले म चुनाव लड्छु, जनतामा जान्छु, म उम्मेदवार बन्छु, देशको सेवा गर्छु भनेर भन्छ भने त उसलाई बार लगाउनु त भएन ।’

वर्तमान सरकारमा ऊर्जा, जलस्रोत तथा सिचाईँमन्त्री रहेको कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको विषय वर्तमान सरकारलाई जानकारी नरहेको पनि उनले बताए । घिसिङ रास्वपामा प्रवेश गरेको विषय औपचारिक रुपमा जानकारी आएपछि सरकारको तर्फबाट निर्णय लिइने उनले बताए । ‘कुलमान घिसिङ मन्त्रीज्यू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभयो भनेर तपाईंहरूले मलाई सुनाइराख्नुभएको छ । सरकारमा औपचारिक रुपमा त्यसको जानकारी आएको छैन,’– उनले भने ।