काठमाडौं, पुस १९ । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले नेपाली कांग्रेसको महाधिवेशनमा देखिएको विवादका कारण पार्टी विभाजन हुन सक्ने सम्भावनाबारे चिन्ता व्यक्त गर्दै विगतका राजनीतिक घटनाक्रमको स्मरण गराएका छन् ।
महाधिवेशन विषयमा शीर्षस्थ नेताबीच टक्कर बढ्दै जाँदा संस्थापनपक्षले महाधिवेशन रोक्ने र इतरसमूहले जसरी पनि महाधिवेशन गर्नैपर्ने दबाब बढाएसँगै कांग्रेस विभाजनको बाटोमा पुगेको चर्चाकाबीच नेता ज्ञवालीले कांग्रेस भित्रको आन्तरिक अवस्थाले मुलुकको लोकतान्त्रिक प्रणालीमा गहिरो प्रभाव पर्ने र अन्ततः लोकतन्त्रले नै ठुलो मूल्य चुकाउनुपर्नेबारे चिन्ता व्यक्त गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै उनले कांग्रेसलाई सुझबुझ देखाएर अघि बढ्न समेत सुझाएका छन् । ज्ञवालीले कांग्रेसले आफ्नो काँधमा रहेको ऐतिहासिक अभिभारालाई बुझेर आन्तरिक समस्याहरूलाई समझदारी र सुझबुझका साथ समाधान गर्ने आशा व्यक्त गरेका छन्।
उनले लेखेका छन् ‘प्रमुख दलहरूका नीति, भूमिका र आन्तरिक प्रबन्धको प्रभाव लोकतान्त्रिक प्रणालीमा गहिरो गरी पर्छ । दलहरू आन्तरिक रूपले कमजोर या विभाजित हुँदा त्यसको मूल्य मुलुकको लोकतन्त्रले नै चुकाउनु पर्दोरहेछ भन्ने अनुभव हामीले निकट अतीतमा देखे भोगेका छौँ । २०५४ मा भएको नेकपा (एमाले) विभाजनले कसरी हिँसात्मक द्वन्द्वलाई राष्ट्रव्यापी विस्तार गर्न सघायो भन्ने तथ्यका रूपमा, र २०५९ मा भएको नेपाली काँग्रेसको विभाजनले प्रजातन्त्र अपहरणका लागि राजालाई कसरी बहाना दियो भन्ने यथार्थका रूपमा ।
त्यसैले लोकतन्त्रको सुस्वास्थ्यका लागि दलहरूको आन्तरिक स्वास्थ्य राम्रो हुनु अनिवार्य पूर्वशर्त हो । आशा गरौँ लोकतन्त्र, संविधान र राष्ट्रिय हितमाथि नै गंभीर चुनौती उपस्थित भएको यथार्थ र यिनको रक्षाका लागि आफ्नो काँधमा रहेको अभिभारालाई बोध गर्दै नेपाली काँग्रेसले आफ्ना आन्तरिक समस्याहरूलाई समझदारी र सुझबुझका साथ समाधान गर्नेछ ।‘




प्रतिक्रिया