काठमाडौं, १९ पुस । नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले नेपाली कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच चुनावी गठबन्धन भएमा अचम्म मान्न नपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिलेको चुनाव देश बनाउने र देश डढाउने शक्तिबीचको प्रतिस्पर्धा रहेको बताए । यस्तो अवस्थामा देश बनाउने शक्तिहरु (काग्रेस, एमाले र नेकपा) एक ठाउँमा आउनुलाई स्वभाविक मान्नुपर्ने बताएका हुन् ।
‘देश डढाउने र देश बनाउनेबीचको लडाईँ हो । यो लडाईँमा बनाउनेहरुको बीचमा हामी मिलेर जाऊँ न त भन्ने भइहालेछ भने त्यसमा कुनै अनौठो मान्न पर्दैन । देश डढाउने मान्छेहरु एमालेको कार्यकर्ता रहँदैन,’– उनले भने ।
यद्यपि, अहिले चुनावी गठबन्धनको बारेमा कुनै निर्णय नभइसकेको उनले बताए । राष्ट्रिय सभाको निर्वाचनमा भने कांग्रेस–एमाले मिलेर जानेबारेमा छलफल अगाडि बढेको उनको भनाइ छ । ‘कांग्रेस र एमालेको बीचमा राष्ट्रिय सभाको चुनावमा जान सकिने सम्भावना छ । अरु सन्दर्भमा चाहिँ समय बाँकी छ,’– उनले भने ।
नेता तामाङले सर्वोच्च अदालतको फैसलाबमोजिम आफूहरु अगाडि बढ्न तयार रहेको बताए । उनले सर्वोच्चले संसद् पुनर्स्थापना नहुने भनेको खण्डमा आफूहरु निर्वाचनमा जान तयार रहेको उनले बताए । अहिले निर्वाचनको प्रक्रिया पनि आरम्भ भइसकेको बताउँदै उनले आफूहरुले पनि त्यसको तयारी गरिरहेको उनले सुनाए । एमाले संविधान र प्रक्रियाभन्दा बाहिर नहिँड्ने बताए ।




प्रतिक्रिया