निर्वाचन भएको भोलिपल्ट रवि, कुलमान र बालेनको डिभोर्स हुन्छः जेन-जी अगुवा ढुङ्गाना (भिडिओसहित)


काठमाडौं, २० पुस । जेन–जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले निर्वाचन भएको भोलिपल्ट रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङबीच फाटो आउने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले निर्वाचन भएकै भोलिपल्ट बालेन, कुलमान र रविबीच फुट आउने दाबी गरेका हुन् । उनले नयाँ शक्तिबीचको एकीकरण धेरै दिन टिक्ने आधार नै नरहेको बताए ।

एकता टिक्नका लागि पनि विचार मिल्न आवश्यक रहेको र रवि, बालेन र कुलमानबीच विचारको आधारमा एकता नभएको उनले बताए । ‘हतार–हतारमा नयाँ शक्तिहरुको एकीकरण भएको छ । यो कति दिन टिक्छ ? विवाह गरेको श्रीमान श्रीमतीको त डिभोर्स हुन्छ भने । निर्वाचन भएको भोलिपल्ट फुट्दियो भने जनता त यता न उत्ता भएनन् त ?’ प्रश्न गर्दै उनले भने ।

साथै, उनले जेन–जी आन्दोलनले निर्वाचन नखोजेको बताए । जेन–जी आन्दोलनले देशको आर्थिक, समाजिक, राजनीतिक निकास खोजेको भए पनि त्योअनुसार हुन नसकेको बताए । उनले यो निर्वाचन प्रणालीबाट देशले निकास नपाउने बताए । अहिलेको निर्वाचन प्रणाली नसच्याइकन आफू चुनाव नलड्ने पनि उनले बताए । ‘यही व्यवस्थामा म निर्वाचनमा उठ्दिन । यही व्यवस्थामा पार्टी खोल्नु र निर्वाचनमा उठ्नुको कुनै औचित्य छैन । म सांसद भएर मात्रै देशले निकास पाउँदैन,’– उनले भने ।

संविधान संशोधन गरेरमात्रै निर्वाचनमा जानु अहिलेको आवश्यकता रहेको उनले बताए । अहिलेको निर्वाचन प्रणाली नै खराब रहेको रहेको उनले बताए । समानुपातिक निर्वाचन प्रणालीमा पनि व्यापक सुधारको आवश्यक रहेको उनले बताए । नयाँ भनिएको रास्वपाले निर्वाचनबाट बहुमत ल्याउन नसक्ने उनले दाबी गरे । रास्वपाले एक सय सिट पनि नकटाउने उनले जिकिर गरे । उनले भने, ‘रविजीको पार्टीले पहिला २१ सिट जितेको थियो । अब १३८ आउला त ? हामी आँकडा हेरौं । सम्भव छैन, एक सय पनि कट्दैन । यही निर्वाचन प्रणालीबाट गयौं भने पुरना दलहरुले सरकार बनाउँछन्,’– उनले भने ।