जेन-जी आन्दोलनको माग सम्बोधन गर्न सरकार पूर्ण रुपमा असफल भयोः राप्रपा नेता जबरा (भिडिओसहित)


काठमाडौं, २० पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबराले आफ्नो पार्टी चुनावमा जाने कुरामा कुनै शंका नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरु निर्वाचनमा जानका लागि तयार रहेको बताएका हुन् । उनले आफ्नो पार्टी कमजोर नरहेको र निर्वाचनबाट नभाग्ने बताए ।

महामन्त्री जबराले समानुपातिक उम्मेदवार छनोटका क्रममा राप्रपाभित्र पनि केही असन्तुष्टि देखिएको बताए । बन्दसूचीमा हाल समावेश भएका समानुपातिक उम्मेदवारहरुको नाम सच्चिने सम्भावना प्रवल रहेको उनको भनाइ छ । ‘पार्टीले राम्रोका लागि एक कदम पछाडि हट्न पनि सक्नुपर्छ । समानुपातिक उम्मेदवारको नामावली सच्याउनुपर्छ,’– उनले भने ।

महामन्त्री जबराले यो सरकारको दायित्व निर्वाचनमात्रै नभएर अरु पनि रहेको बताए । जेन–जीको आन्दोलनले यो सरकारलाई ल्याएको भए पनि जेन–जी आन्दोलनको माग सम्बोधन गर्न वर्तमान सरकार पूर्ण रुपमा असफल भएको उनले बताए । ‘सुशीला कार्कीलाई निर्वाचन गराउन मात्रै प्रधानमन्त्री बनाए हो र ? निर्वाचनको लागि मात्रै भए त २०८४ मा निर्वाचन आइहाल्थ्यो नि । आन्दोलनको मर्म र भावना त अर्कै थियो नि । खाली निर्वाचन गर्नका लागि सरकार बनेको भनियो, यो पूर्ण रुपले गलत हो,’– उनले भने ।