काठमाडौं, २० पुस । वरिष्ठ अधिवक्ता यदुनाथ खनालले नेपाली कांग्रेसको विशेष महाधिवेशन अपरिहार्य रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेसको विधानको धारा १७ (२) लाई नजरअन्दाज गर्ने छुट कसैलाई पनि नरहेको बताएका हुन् । उनले विधानको धारा १७ (२) मा रहेको व्यवस्था बाध्यात्मक रहेको दाबी गरे । उनले भने,‘विधानको १७ (२) लाई नजरअन्दाज गर्न मिल्दैन । त्यसलाई टुङ्गोमा पुर्याउनै पर्छ । बाध्यात्मक व्यवस्थालाई अब नियमित आइसक्यो भनेर पन्छिन कोही पनि पाइँदैन ।’
प्रतिनिधिसभाको निर्वाचनलाई हाउँगुजी देखाएर कोही पनि नेता विशेष महाधिवेशनको मागबाट पन्छिन नमिल्ने उनको जिकिर छ । विधानको प्रक्रियालाई टुङ्गोमा पुर्याएर निर्वाचनमा एक भएर जानुपर्ने उनले बताए । २०८८ जनाले हस्ताक्षर गरेर माग गरेको विधान महाधिवेशनबाट पन्छिन कसैलाई छुट नरहेको उनले बताए । वरिष्ठ अधिवक्ता खनालले निर्वाचनको हाउँगुजी देखाएर लोकतान्त्रिक अभ्यासबाट पन्छिन नमिल्ने बताए ।
उनले असोजमा दर्ता भएको विशेष महाधिवेशनको माग अहिले आएर सनाखत गराउन नमिल्ने उनले बताए । विशेष महाधिवेशन बोलाउने बाध्यात्मक व्यवस्थालाई अब कसैले पन्छाउन नसक्ने उनले बताए । विशेष महाधिवेशनको पक्षमा ५० प्रतिशतभन्दा बढी भयो भने त्यो पक्षले कुनै पनि निर्णय गर्न सक्ने वरिष्ठ अधिवक्ता खनालको दाबी छ ।




प्रतिक्रिया