प्रतिनिधिसभाको निर्वाचनमा जाँदा कांग्रेसले कसैलाई पनि प्रधानमन्त्रीको उम्मेदवार बनाउँदैनः कृष्ण सिटौला


काठमाडौं, २१ पुस । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्ण प्रसाद सिटौलाले प्रतिनिधिसभाको निर्वाचनमा पार्टी एक्लै चुनावमा जाने बताएका छन् । आज (सोमबार) आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले राष्ट्रिय सभामा तालमेल गरे पनि प्रतिनिधिसभामा एक्लै जाने बताएका हुन् । ‘प्रतिनिधि सभाको चुनावमा हामी एक्लै जाने हो । अहिलेसम्म एक्लै चुनावमा जानुपर्छ भन्ने छ,’– उनले भने ।

उनले सरकारले र निर्वाचन आयोगले सुरक्षा र भयरहित वातावरण निर्वाचन गर्न सक्षम छौं भनेको सुनाउँदै आफूहरु निर्वाचनमा जान तयार रहेको बताए । साथै, आगामी प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले कसैलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर नजाने उनले बताए ।

‘गगन थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेर कांग्रेस चुनावमा जान्छ ?’ भन्ने प्रश्नमा सिटौलाले भने, ‘कांग्रेसको आफ्नो नीति र परम्परा छ, त्यहीअनुसार हुन्छ। चुनावमा जान कांग्रेसले कसैलाई प्रधानमन्त्री घोषणा गर्दैन।’

नेता सिटौलाले कांग्रेस नफुट्ने पनि दाबी गरे । ‘पुस २८ गतेपछि कांग्रेस फुट्छ त ?’ भन्ने प्रश्नमा सिटौलाले भने, ‘कांग्रेस फुट्दैन। हामी हुन दिँदैनौं। कांग्रेस एकताबद्ध रहन्छ।’

उनले सिटौलाले विशेष महाधिवेशनको औचित्य सकिएको पनि दाबी गरे । गत मंसिरमा नियमित महाधिवेशनको कार्यतालिका आएसँगै विशेष महाधिवेशनको औचित्य सकिएको उनको बुझाइ छ । चुनावअघि महाधिवेशन गर्न समय पनि नभएको उनले बताए ।