जेन-जी विद्रोहको लक्ष्य ओलीलाई सत्ताबाट हटाउनुमात्रै थियो भन्ने पुष्टि भयोः राजनीतिक विश्लेषक डा.केसी


काठमाडौं, २२ पुस । राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले भदौ २३ र २४ गतेको घटना छानविन गर्न बनेको जाँचबुझ आयोगले तयार पार्ने प्रतिवेदन कार्यान्वयन नहुने दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन पनि दराजमै थन्किने बताएका हुन् । उनले भने, ‘जाँचबुझ समितिले आफ्नो प्रतिवेदनहरु बुझाउँछ । ती दराजमा गएर थन्किन्छन् । कुनै कारबाही पनि हुँदैन, केही पनि हुँदैन ।’

राजनीतिक विश्लेषक डा.केसीले जेन–जी विद्रोहको औचित्य पुष्टि हुन नसकेको बताए । उनले जेन–जी विद्रोहको लक्ष्य केपी शर्मा ओलीलाई सत्ताबाट हटाउनु थियो भन्ने पुष्टि भएको पनि बताए । आगामी फागुन २१ गते हुने आम निर्वाचनपछि पनि कुनै दलको बहुमत नआउने र देशमा अस्थिरता, गन्जगोल कायमै रहने उनले बताए ।

उनले भने, ‘जेन–जी विद्रोहको लक्ष्य केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउनु रहेछ । एउटा केपी ओलीलाई सत्ताबाट हटाएर मध्यावधि निर्वाचन गर्नका लागि यत्रो क्षति स्वीकार्य कुरा हो यो ? अब मध्यावधि हुन्छ । चुनौति चाहिँ के छ भनेदेखि मध्यावधिपछि के हुन्छ त ? कसैको बहुमत आउँछ ? त्यो चुनौति हो । अस्थिरता र गन्जागोल जारी नै रहने भयो,’– उनले भने ।

उनले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार अहिले १४ सदस्यीय रहेप पनि कालान्तरमा २५ सदस्यीय नै पुग्ने खतरा रहेको उनले बताए । उनले भने, ‘कालन्तरमा यो २५ सदस्यीयसम्म हुने खतरा त्यतिकै छ । यस्ता कुराहरु हुँदै गएभने चुनौति हुन्छ ।’

उनले अहिले रहेका दलहरु कुनैमा पनि नयाँ चरित्र नरहेको बताए । काठमाडौंका मेयर बालेन्द्र शाहलाई रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अगाडि सार्ने कुरालाई नयाँ कुरा मान्न नसकिने बताए । रास्वपामा पनि बालेन भनेर अन्तरघात गरेर डाँडा कटाउने खेल भइरहेको बताए ।