महामन्त्रीद्वयले विशेष महाधिवेशनको व्यापक तयारी गरिरहेको बेलामा देउवाले बोलाए आकस्मिक बैठक


काठमाडौं, २४ पुस । नेपाली कांग्रेस कार्य सम्पादन समितिको आकस्मिक बैठक आह्वान भएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज (बिहीबार) अपरान्ह ४ बजे सानेपास्थित पार्टी मुख्यालयमा कार्य सम्पादन समितिको आकस्मिक बैठक बस्ने छ ।

कार्य सम्पादन समितिको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा विशेष महाधिवेशनको तयारी भइरहेको बेलामा सभापति शेरबहादुर देउवाले कार्य सम्पादन समितिको आकस्मिक बैठक बोलाएका हुन् ।

विशेष महाधिवेशन पक्षधरले आगामी पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेको छ । जसको पक्षधर महामन्त्रीद्वय शर्मा र थापा रहेका छन् । विशेष महाधिवेशनको तयारीस्वरुप हल बुकिङ, ट्याट्रिङको व्यवस्थापन, झोला तथा आवश्यक सामाग्रीको छपाइलगायतका काम सकिएको छ ।