संस्थापन पक्षले डराउनुपर्दैन, विशेष महाधिवेशन गर्दा कांग्रेस फुट्दैनः नेता खड्का (भिडिओसहित)


काठमाडौं, २४ पुस । नेपाली कांग्रेसका नेता भरत खड्काले पार्टीलाई समयसापेक्ष ढंगले अगाडि बढाउनका लागि विशेष महाधिवेशनको माग गरिएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेसभित्रका विसंगति, विकृतिहरुलाई समाप्त पारेर पार्टीलाई अगाडि बढाउनुपर्ने आवश्यकता महसुश गरेर विशेष महाधिवेशन आह्वान गरिएको बताए । कांग्रेसलाई सफा गरेर अगाडि बढाउनुको विकल्प नरहेको कारण आफूहरु विशेष महाधिवेशनमा होमिएको बताए ।

साथै, उनले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने बताएका छन् । बरु यसले पार्टीलाई थप सबल बनाउने उनको तर्क छ । आफूहरुले देशको अवस्था र कांग्रेसभित्रको संवेदनशीलता बुझेर नै विशेष महाधिवेशन आह्वान गरिएको बताए । ‘विशेष महाधिवेशनबाट पार्टी फुट्दैन । कुनै हालतमा हामीले पार्टीलाई सबलीकरण गर्नका लागि, समयसापेक्ष ढंगले अगाडि बढाउनका लागि नै पार्टीको विशेष महाधिवेशन बोलाएका हौं । पार्टी फुट्दैन । यो विशेष महाधिवेशनले कांग्रेसलाई सबल बनाउँछ । पार्टी फुट्छ कि भनेर संस्थापन पक्षले डराउनुपर्ने अवस्था छैन । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले माग गरेको महाधिवेशनको संवेदनशीलता बुझ्न जरुरी छ । यो संस्थापन इतर होइन, भोलि विशेष महाधिवेशनको महत्त्व उहाँहरुले बुझ्नेछन्,’– उनले भने ।

विशेष महाधिवेशन माग गर्नेहरु १४औं महाधिवेशनमा डा.शेखर कोइरालाकै टिम रहेको उनले बताए । ९० प्रतिशत विशेष महाधिवेशनको माग गर्नेहरु शेखरपक्षधर नै रहेको उनले बताए । नेता खड्काले डा.कोइरालासँग सल्लाह भएर नै विशेष महाधिवेशनको तयारी थालिएको दाबी गरे ।