‘बालेनले लौरोलाई राजनीतिक बार्गेनिङको हतियार बनाए’


काठमाडौं, २४ पुस । लौरो अभियान, स्वतन्त्र अभियान र जेनजी अभियानले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले लौरो चुनाव चिन्हलाई राजनीतिक बार्गेनिङको साधन बनाएको निष्कर्ष निकालेको छ । काठमाडौंमा आज आयोजित विशेष भेला तथा पत्रकार सम्मेलनले बालेनले लौरो चुनाव चिह्न निजी स्वार्थमा प्रयोग गरेको आरोप लगाएको हो ।

रास्वपामा प्रवेश नगर्दासम्म मात्रै बालेन लौरो अभियानको स्टेकहोल्डर रहेहेको बताइएको छ । बालेन र उनीसँग आवद्ध व्यक्तिहरु राजनीतिमा प्रवेश गरेसँगै लौरोको स्वामित्व उनीहरुले गुमाएको बताइएको हो । लौरो स्वतन्त्रहरुको आस्था, धरोहर र स्वतन्त्रहरुको मन्दिर रहेको बताइएको छ ।

काठमाडौं महानगरका मेयर शाह यसअघि नै रास्वपामा प्रवेश गरिसकेका छन् । उनी र रास्वपाबीच भएको सहमतिमा आसन्न चुनावमा उनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर अगाडि बढ्ने सहमति भएको छ । यद्यपि बालेन रास्वपाको औपचारिक कार्यक्रमहरुमा भने सार्वजनिक भएका छैनन् ।