काठमाडौं, २५ पुस । नेपाली कांग्रेस सुधार अभियानका नेताहरुले सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्क, नेता शेखर कोइराला, महामन्त्री विश्वप्रकाश शर्मालगायतलाई भेटेर पार्टीभित्र देखिएको विषम परिस्थितिबारे जानकारी गराएका छन् । कांग्रेस सुधार अभियानका प्रवक्ता नवराज गुरुङले आज विहान नेताहरुलाई भेटेर विशेष महाधिवेशन र नियमित महाधिवेशन पक्षधर मिलेर एकतावद्ध भएर अगाडि बढ्न आग्रह गरिएको बताएका हुन् ।
कांग्रेस सुधार अभियानले पुस २७ र २८गते गर्ने भनिएको विशेष महाधिवेशन कांग्रेस केन्द्रीय समितिबाट निर्णय गरी आगामी माघ ११, १२ र १३ गते गर्ने गरी पारित गर्न उनीहरुले प्रस्ताव गरेका छन् । अभियानले पुस २७ र २८ गते हुने भनिएको विशेष महाधिवेशनलाई विशेष भेलामा परिमार्जन गर्न अर्को विकल्प प्रस्तुत गरेको छ । विशेष भेलालाई कांग्रेसका शीर्ष नेताहरुले सम्बोधन गरी आगामी फागु्न २१ गतेको निर्वाचनमा नयाँ जोस, जाँगरका साथ भाग लिनुपर्ने कांग्रेस सुधार अभियानको माग छ ।
कांग्रेस सुधार अभियानका संयोजक अर्जुन खड्काले पार्टी आज दुई समूहमा विभाजन भएको र नेताहरुले नै शंकट ल्याउने काम गरेको बताए । उनले पार्टी सभापति देउवाले कांग्रेस फुट्नबाट जोगाउनुपर्ने बताए । कांग्रेस विभाजन भएको खण्डमा देउवाको नाम इतिहासमा कालो अक्षरले लेखिने पनि उनले बताए । ‘यो शंकट होइन, शंकट ल्याइयो । शेरबहादुरजी भरेसम्ममा पार्टी मिलाउनुस् । फुट नहोस् । तपाईँले १५औं महाधिवेशन गर्छु भन्यो भने सबैले मान्छन्,’– उनले भने ।




प्रतिक्रिया