काठमाडौं, २६ पुस । नेपाली कांग्रेसका युवा नेता प्रताप पौडेलले विशेष महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता पौडेलले जिल्ला, क्षेत्र र गाउँ–गाउँबाट महाधिवेशनमा सहभागी हुनका लागि प्रतिनिधिलगायतका नेताहरु काठमाडौं आइरहेको बताए । उनले पुस २७ गते उद्घाटन हुने र २८ गतेबाट बन्दशत्र सुरु हुने बताए ।
विशेष महाधिवेशनमा छलफल र बहस हुने र त्यसपछि निष्कर्षमा पुगिने बताए । विशेष महाधिवेशनको उद्देश्य पार्टी एक ढिक्का बनाउने रहेको उनले दाबी गरे । विशेष महाधिवेशनले पार्टीलाई पुनर्जीवन दिने उनले बताए । ‘यो फुटाउनको निम्ति होइन, जुटाउनका निम्ति हो, उठाउनका निम्ति हो । महाधिवेशनका निम्ति उत्साहका साथ मान्छेहरु ठाउँ–ठाउँबाट आइपुग्नुभएको छ । पार्टी एक बनाउनुपर्छ, पुनर्गठन गर्नुपर्छ, उत्साह लिएर निर्वाचनमा जानुपर्छ भन्ने बहुमत साथीहरुले हस्ताक्षर गरेको विधान पालना गर्नको निम्ति र पार्टी एक बनाउनका लागि हो,’– उनले भने ।
विधानको धारा १७ (२) अनुसार ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले माग गरेपछि विशेष महाधिवेशन बाध्यकारी रहेको उनले बताए । उनले सबैले विधान मान्नुपर्ने बताए । कुनै पनि संस्थाको असाधारण अवस्थामा निश्चित प्रतिशत सदस्यले साधारण सभा बोलाउन सक्ने व्यवस्था हुने उनले बताए ।




प्रतिक्रिया