काठमाडौं, २६ पुस । विशेष महाधिवेशनको विषयलाई लिएर नेपाली कांग्रेसभित्र यतिबेला हलचलको अवस्था सिर्जना भएको छ । झण्डै ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको मागबमोजिम भोलि (पुस २७ र २८ गते) काठमाडौंको भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन आह्वान गरिएको छ । उक्त अधिवेशनलाई लिएर सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको संस्थापन समूहले पार्टी विभाजन हुन सक्ने चिन्ता व्यक्त गरेको छ । यता इतर पक्षधरहरु जसरी पनि विशेष महाधिवेशन गराएर छाड्ने पक्षमा छन् ।
इतरसमूहको नेतृत्व गरेको नेता डा.शेखर कोइराला भने यतिबेला मध्यमार्गी धारमा उभिएका छन् । उनले विशेष महाधिवेशन पक्षधरलाई साथ नदिइ समन्वयकारी भूमिका खेलिरहेका छन् । कांग्रेस नेता डा.सुनिल शर्माका अनुसार डा.कोइराला पार्टी नफुटोस् भन्ने पक्षमा दृढ रहेका छन् । नेता डा.शर्माले शेखर कोइरालाको पहलमा विशेष महाधिवेशन हलमा कांग्रेसका शीर्ष नेतासहित आफूहरु पनि जाने र यसलाई नीति महाधिवेशनमा परिणत गर्नका लागि पहल गर्ने बताए ।
‘शेखर दाइको मुख्य चिन्ता भनेको पार्टी नफुटोस् भन्ने हो । यसलाई आधिकारिक रुपमा बुझिदिनुहोला । शेखर दाइको पहल हलमा हामी पनि जाने, नीति महाधिवेशनमा परिणत गर्ने धारणा शेखर दाइले राख्नुभएको छ,’– नेता डा.शर्माले भने, ‘हामी हिजो राति यहीँ सिलसिलामा शेखर दाइसँग साढे १२ बजे रातिसम्म थियौं । उमेरले त हाम्रो बुबा, काकाको उमेरको हुनुहुन्छ शेखर दाइ । शेखर दाइसँगै भाउजु पनि बस्नुभएको थियो । उहाँ बडो चिन्तित भएर पो पार्टी फुट्नु हुँदैन, फुटाउन हुँदैन, यो अधिवेशनलाई नेगोसेशन गरेर नियमित अधिवेशनमा नै लगेर यसलाई के सोलुशन दिन सकिन्छ भन्नेबारेमा शेखर डाक्टरसाबको रोल छ ।’




प्रतिक्रिया