काठमाडौं, २६ पुस । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेसभित्रको आन्तरिक विवादको कारण देखाएर २१ फागुनको निर्वाचन सार्ने षड्यन्त्र भईरहेको बताएका छन् । आज (शनिबार) काभ्रे जिल्लाको बनेपामा आयोजित आजपाको काभ्रे क्षेत्र नं.२ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले देश र जनता चुनावको मुडमा रहेको भन्दै अब बहानावाजी गरेर चुनाव सार्ने षड्यन्त्र नगर्न प्रधानमन्त्री सुशीला कार्कीलाई चेतावनी दिए ।
‘म यहीँबाट प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु–देश र जनताले चुनाव चाहेका छन् । अहिले मुलुक विषम परिस्थितिमा गुज्रिएको छ, यस्तो बेलामा तोकिएकै समयमा निर्वाचन गराउनु हामी सबैको दायित्व हो । तर कुनै एक दलको आन्तरिक कलह, घरझगडा र महाधिवेशनको विवादलाई बहाना बनाएर चुनाव सार्ने काम भयो भने तपाईंको नाम इतिहासले कंलकको रुपमा बुझ्नेछ । नो इफ, नो बट । ईलेक्शन अन टाईम ईज द बेष्ट सोलुसन । यो कुरा याद गर्नुहोस,’ अध्यक्ष साहले भने ।
भदौ २३ गते कलिला युवाहरुमाथि ताकि–ताकि गोली हानेर हत्या गर्नेहरुसँगै नै वर्तमान सरकार र यसको नेतृत्वले साँठगाँठ गर्नु जेनजी जनविद्रोहको नै उपहास भएको टिप्पणी साहले गरे । उनले जेनजी जनविद्रोहमा दमन गर्ने तत्कालिन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा बोलाएर सुशीला कार्कीले गरेको सुलहले पनि जेनजी शहिद परिवारलाई चोट पुगेको बताए ।
जेन–जी आन्दोलनको रापतापमा बलपूर्वक र षड्यन्त्रमूलक तवरले देशको नेतृत्व गर्न पुगेकी सुशीला कार्कीलाई आन्दोलनको हाईज्याकरको संज्ञा दिएका छन् । यस्तै, जेनजी आन्दोलनमा बल प्रयोग गर्ने कांग्रेस र एमालेलाई भने उनले दमनकारीको संज्ञा दिएका छन् । अहिले आन्दोलनको हाईज्याकर र दमनकारीबीच अस्वभाविक उठबसले जेनजी जनविद्रोहलाई समेत गिज्याएको उनको आरोप छ ।
चुनाव गराउने सरकारले बालुवाटारमा दमनकारी केपी ओलीलाई बोलाएर घण्टौं बहस गर्नु र न्यानो आतिथ्यता प्रदान गर्नु जेनजी शहिदहरुप्रतिको अपमान भएको साहको गुनासो छ । अहिले नेपाली कांग्रेसको महाधिवेशन विशेष कि नियमित भन्ने विवादलाई लिएर चुनाव सार्ने षड्यन्त्र हुन थालेको र त्यो षड्यन्त्रको तानाबाना बालुवाटारमा बुन्न खोजिएको आभाष भएको भन्दै साहले त्यस्तो दुस्साहस नगर्न पनि चेतावनी दिए ।
कुनैपनि बहानामा निर्वाचन सार्ने काम भयो भने सुशीला सरकारको औचित्य त्यही दिन समाप्त हुने उनको टिप्पणी छ । आजपा अध्यक्ष साहले भने, ‘जुन दिन यो सरकारले निर्वाचन सार्ने काम गर्छ, त्यही दिन यो सरकारको औचित्य समाप्त हुन्छ । देशको समय भनेको मजाक गर्ने कुरा होईन, कुनै दलविशेषको विवाद देखाएर यो सरकारले निर्वाचन सार्ने काम भयो भने प्रतिकार हुन्छ । सरकारमा भएकाहरुले आफ्नो झोली–तुम्बा बोके हुन्छ । चुनावको मिति सार्ने अनि सरकारमै रजाईं गर्ने सोचेको हो भने त्यो दिवासपना हुनेछ । खबरदार, चुनाव तोकिएकै मितिमा गराउ ।’
फरक प्रसँगमा उनले देश अन्यन्तै जटिल मोडमा उभिएको र भू–राजनीतिक चलखेलसमेत बढ्दो अवस्थामा रहेको खतरा औंल्याएका छन् । उनले अब देशभक्त र परिवर्तन चाहने शक्तिहरुबीच एकताको खाँचो रहेको बताए । नयाँ र विकल्प दिन्छु भन्नेहरु नक्कली–नेता भएको र यिनीहरुले देशलाई कुनैपनि हालतमा पार लगाउन नसक्ने भन्दै साहले रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङको आलोचना गरे ।
उनले नयाँ भनिनेहरु कोही ठग, कोही अनाडी र कोही भ्रष्ट रहेको भन्दै उनीहरुले देशको संकट हल गर्न नसक्ने ठोकुवा गरे । देशलाई दलतन्त्र, नेतातन्त्र र लुटतन्त्रबाट बाहिर निकाल्नका लागि आजपाले सुरुदेखि नै संघर्ष गरेकोले आफ्नो पार्टी सधैं जनताको पक्षमा उभिएको साहको दाबी छ । खराब संविधान र खराब व्यवस्थाको कारण मुलुकको अवस्थापनि खराब भएको उनको टिप्पणी छ । उनले अहिलेको संविधानले देशलाई कुनैपनि हालतमा निकास नदिने ठोकुवा समेत गरे ।




प्रतिक्रिया