विशेष महाधिवेशनको आवश्यकता नै थिएन, यसले कांग्रेसलाई कमजोर बनाउँछः किशोरसिंह राठौर (भिडिओसहित)


काठमाडौं, २७ पुस । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले विशेष महाधिवेशनले पार्टीलाई कमजोर बनाउने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै सहमहामन्त्री राठौरले विशेष महाधिवेशन अहिलेको आवश्यकता नै नरहेको बताएका हुन् । अहिले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्नुपर्नेमा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा लफडा गर्नेतिर लागेको बताए ।

अहिले देश र कांग्रेस संकटमा भएको बेलामा महामन्त्रीद्वय शर्मा र थापाले अराजक गतिविधि गर्न लागेको उनले बताए । पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाएर देखाएको उनले बताए । उनले भने, ‘महामन्त्रीहरु भनेको नै संस्थापन हो । उहाँहरुले अराजक गतिविधि गर्न पाउनुहुन्छ ? अहिले पार्टीलाई शंकट परेको बेलामा पार्टीको जिम्मेवार तहमा बसेका नेताहरुले गैरजिम्मेवार काम गर्न पाइन्छ ? पार्टीलाई बलियो र संगठित बनाउनका लागि यो भेला बोलाएका छौं भन्नुभएको छ । छुट्टाछुट्टै भेला बोलाउने हो भने पार्टी रहन्छ ?’

देशमा निर्वाचनको घोषणा भएको बेलामा कांग्रेस एक ढिक्का भएर जानुपर्नेमा महामन्त्रीद्वयले पार्टीभित्र बबाल मच्चाएको उनले बताए । संस्थापन पक्षको आफूहरुको समूहले निर्वाचनपछि नियमित महाधिवेशन गर्ने भनिराखेको उनले बताए ।