काठमाडौं, २७ पुस । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको रुपान्तरण, वैचारिक पुनर्जागरण र पार्टीलाई नेताको नभई नीतिको पार्टी बनाउनका निम्ति विशेष महाधिवेशनको औचित्यता रहेको बताएका छन् । विशेष महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै नेता केसीले अबको कांग्रेस परिक्रमा गर्नेहरुको नभएर पराक्रम गर्नेहरुको कांग्रेस बनाउनुपर्ने बताए ।
‘अब निर्माण हुने कांग्रेस परिक्रमावादीहरुको कांग्रेस होइन, पराक्रम गर्नेहरुको कांग्रेसको रुपमा रुपान्तरण गर्नुपर्ने आवश्यकता छ,’– उनले भने ।
ृउनले अब निर्माण हुने कांग्रेस नयाँ नीति र नेतृत्वको साथ अविश्वासलाई विश्वासमा बदल्ने, निराशाहरुलाई आशामा बदल्ने र हरेक युवाहरुलाई सहभागितापूर्ण ढंगले सम्बोधन गर्ने काममा सफल हुनुपर्ने बताए । विधिविहीनता, दण्डविहीनता र भ्रष्टाचारको दलदलमा फसेको देशलाई सही बाटोमा ल्याउनका लागि विशेष महाधिवेशनले प्रस्ताव पारित गर्नुपर्ने उनले बताए ।
उनले अहिले विदेशका सबै ठाउँमा नेपालीहरुको रकम थुप्रिएको र त्यसको छानविन गरेर राष्ट्रियकरण गर्नुपर्ने बताए । जहिले पनि सत्य र असत्य, न्याय र अन्यायको बीचमा मौन रहनु अन्यायलाई साथ दिनु रहेको उनले बताए । नयाँ कांग्रेस निर्माणमा सबै लाग्न उनले आग्रह गरे । File Photo/RN




प्रतिक्रिया