काठमाडौं, २७ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक तहमा रहेका असन्तुष्टिका केस्राकेस्रा केलाएर छलफल गरिने बताएका छन् ।
कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले आम नागरिकका गुनासा, असन्तुष्टि र अपेक्षालाई बुँदागत रूपमा सङ्कलन, पहिचान र समीक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कांग्रेसले जनअसन्तुष्टिलाई गम्भीरतापूर्वक आत्मसात् गर्ने बताए ।
महामन्त्री शर्माले भने, ‘आगामी फागुन २१ गते रूख चिह्नमा मतदान गर्नुअघि नागरिकका गुनासा टिपोट गरेर, पहिचान गरेर, आगामी दिनमा नदोहो¥याउने सङ्कल्पसहित विशेष महाधिवेशन गरेर हामी अघि बढ्दैछौँ ।’
उनले पछिल्लो ३४ वर्षमा ३० वटा सरकार गठन भए पनि नागरिकलाई सन्तुष्ट गर्न नसकिएको बताए । सरकार परिवर्तनले सत्तामा पुगेकालाई सन्तुष्टि मिलेको भए पनि आमनागरिकले अनुभूति गर्न नसकेको महामन्त्री शर्माले बताए ।
उनले विशेष महाधिवेशनलाई केवल सङ्गठनात्मक अभ्यास नभई जनअसन्तुष्टिको गहिरो समीक्षा र आत्मसमीक्षाको मञ्चका रूपमा स्थापित गर्ने बताए ।




प्रतिक्रिया