काठमाडौँ, २७ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनको भोलि हुने बन्द सत्रमा उपस्थित भई सम्बोधन गरी पार्टीलाई एकताबद्ध तुल्याउन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापालगायतका नेताहरुले सभापति देउवालाई उपस्थिति जनाएर पार्टी एकतावद्ध रहेको सन्देश प्रवाह गर्न आग्रह गरेका हुन् ।
सहमहामन्त्री फर्मुल्ला मन्सुरले पनि देउवालाई भोलिको बन्दसत्रमा उपस्थित भएर सम्बोधन गर्न आग्रह गरे । नेता सुरेन्द्र चौधरीले विशेष महाधिवेशनले पार्टीमा देखिएका सबैखाले समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
पार्टीका केन्द्रीय सदस्य महेश आचार्यले विशेष महाधिवेशनले पार्टी विधानसम्मत ढङ्गले चल्नुपर्छ भन्ने स्पष्ट सन्देश दिएको बताए । यस अधिवेशनले पार्टीभित्र अरूको कुरा सुन्न नचाहने प्रवृत्तिलाई परास्त गरेको उनको धारणा छ ।
नेता डा चन्द्र भण्डारीले पार्टीका नेताहरुले देश र जनताको सम्मान गर्दै युवा पुस्ताले उठाएको माग र मुद्दालाई सम्बोधन गर्नेतर्फ पाइला उन्मुख हुनुपर्ने बताए ।
अर्का नेता विनोद चौधरीले नेपाली जनता राजनीतिक स्थिरतासँगै आर्थिक क्रान्ति पर्खेर बसेकाले उनीहरुको मागलाई कांग्रेसले ध्यानपूर्वक सुनेर सम्बोधन गर्न आवश्यक रहेको बताए ।
नेता देवराज चालिसले पार्टीको विशेष अधिवेशन पार्टीको आन्तरिक जीवनसँग मात्र जोडिएको नभई जेनजी आन्दोलन र समग्र मुलुकको रुपान्तरणसँग सरोकार रहेको बताए ।




प्रतिक्रिया