डा.संग्रौलासहित ३० जना संस्थापन समूहका केन्द्रीय सदस्य विशेष महाधिवेशन हलमा


काठमाडौं, २८ पुस । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले आफूसहित ३० जना संस्थापन समूहका केन्द्रीय सदस्यहरु विशेष महाधिवेशनको पक्षमा उभिएको बताएकी छन् । उनले कांग्रेसभित्र एकता होस् भन्ने उद्देश्यका साथ आफूहरु विशेष महाधिवेशनको पक्षमा उभिएको बताएकी हुन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरु सबै अटाउने र सबैले रुचाउने कांग्रेस बनाउने पक्षमा रहेको बताएकी छन् ।

‘गुट परिवर्तनभन्दा पनि जेन–जी आन्दोलन पछाडि देश पनि अर्कै रह्यो, नेपाली कांग्रेसको राजनीति पनि अर्कै रह्यो । त्यसदेखि हामी गुट लबीभन्दा पनि जनता र राष्ट्रप्रति समर्पित बनाउनुपर्ने छ । सबै अटाउने, सबैले रुचाउने कांग्रेस बनाउनुपर्ने छ । हिजोदेखि हामी ३० जना त्यही अभियानमा जुटेका छौं । विशेष महाधिवेशनमा सहभागी भएका छौं,’– उनले भनिन् ।

हिजोको उद्ुघाटनसत्र विशाल, सभ्य र भव्य रहेको पनि उनले बताईन् । विशेष महाधिवेशनको उद्घाटन सत्रले कांग्रेसभित्र बृहत एकता हुनुपर्छ भन्ने नै रहेको उनले बताईन् । महाधिवेशन प्रतिनिधिहरुले नीति र नेतृत्व दुवै बदल्छौं भनेर लागिरहेको आफूले पाएको पनि उनले सुनाईन् । आफूहरुको उद्देश्य कांग्रेसलाई एक बनाउने नै रहेको उनको भनाइ छ ।

आफूहरुको सोच बलियो कांग्रेस आजको आवश्यकता हो भन्ने रहेको पनि उनले बताईन् । आफूहरुले अहिले कांग्रेस फुट्नेसम्मको अपेक्षा नगरिएको उनले बताईन् ।