विश्वप्रकाशको राजनीतिक प्रतिवेदनः कांग्रेसले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने


काठमाडौं, २८ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको तर्फबाट भविष्यमा कोही पनि दुइपटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने नीति अवलम्बन गरिने बताएका छन् । विशेष महाधिवेशनको बन्दसत्र हलमा ‘बदलिएको देशः बदल्नुपर्ने कांग्रेस’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गर्दै उनले दुई पटक मात्रै प्रधानमन्त्रीको नीतिलाई नेपालको संविधानमा लिपिबद्द गर्न कांग्रेसले अग्रसरता लिने बताएका हुन् ।

डेढ दशक यता चुनाव हुने, नयाँ सरकार बन्ने, तर प्रधानमन्त्री पुरानै हुने अभ्यासले नागरिकमा असन्तुष्टि बढाएको र नेतृत्वलाई अलोकप्रिय बनाएको उनले प्रतिवेदनमा उल्लेख गरेका छन् । यसले सार्थक परिणाम पनि दिन नसकेको उनको बुझाइ रहेको छ ।

‘विगतको गल्ती सच्याउँदै यो बिशेष महाधिवेशन उद्घोष गर्दछ– नेपाली काँग्रेसको तर्फबाट भविष्यमा कोही पनि दुइपटक भन्दा बढी प्रधानमन्त्री बन्ने छैनन् । दुई पटक मात्रै प्रधानमन्त्रीको यो नीतिलाई नेपालको संविधानमा लिपिबद्द गर्न नेपाली कांग्रेसले अग्रसरता
लिनेछ,’– उनले प्रतिवेदनमा भनेका छन् ।

उनले विगतको तीन दशकमा सरकार पटक–पटक अस्थिर हुँदा नीतिगत स्थिरताका लागि सार्थक पहल र सुनिश्चितता गर्न नसक्नुलाई कांग्रेसको ठूलो गल्तीको रुपमा औंल्याएका छन् । महामन्त्री शर्मालेजलविद्युत, कृषि, भौतिक विकास, निजिक्षेत्रलाई गर्ने ब्यवहारमा सरकार बदलिएसँग सबै क्षेत्रमा असर परेको पनि बताएका छन् । विगतका गल्ती सच्याउँदै देशलाई नीतिगत सुनिश्चितताका साथ अग्रगतिमा लैजाने पहल र नेतृत्व गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

साथै, चुनावी गठबन्धनले नेपाली राजनीतिमा मतदाताको स्वतन्त्र विवेक एवं पार्टी सदस्यको सम्मानलाई असर पु¥याएको उनले बताएका छन् । गोदावरीमा सम्पन्न पार्टीको महासमिति बैठकले आगामी चुनावमा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको स्मरण गराउँदै उनले आगामी निर्वाचनमा कुनै दलसँग गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्ने उल्लेख गरेका छन् ।