कांग्रेसको विशेष महाधिवेशनलाई अवैधानिक भन्न कसैले पनि सक्दैनः महामन्त्री थापा


काठमाडौं, २८ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनलाई निर्वाचन आयोगले अवैधानिक भन्न नसक्ने बताएका छन् । विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले विधानअनुसार आफूहरुले आह्वान गरेको महाधिवेशन वैधानिक रहेको दाबी गरेका हुन् ।

‘संविधानभन्दा माथि केही पनि छैन। त्यो संविधानको व्यवस्थामा राजनीतिक दल सम्बन्धी ऐनको व्यवस्था छ। त्यसको आधारमा हाम्रो विधान निर्वाचन आयोगबाट प्रमाणित भएको विधान हो,’– महामन्त्री थापाले भने ।

विशेष महाधिवेशनबारे कसैले पनि कानूनी प्रश्न उठाउन नसक्ने महामन्त्री थापाको दाबी छ । नेपालको संविधानको आधारमा निर्वाचन आयोगले कांग्रेसको विशेष महाधिवेशनलाई अवैधानिक भन्नै नसक्ने उनले बताए । महामन्त्री थापाले भने, ‘हाम्रो विशेष अधिवेशनलाई अवैधानिक भन्न कसैले सक्दैसक्दैन। ढुक्क भएर बस्नुस्, सक्दैन।’