समानुपातिक सूची बुझाउन आयोगको निर्णय पखाईमा उनेपा, अदालतसम्मै जाने तयारी


काठमाडौं, २८ पुस । उज्यालो नेपाल पार्टी (उनेपा) ले आफूहरुको समानुपातिक सूची दर्ता गरिदिन माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ । उनेपाले समानुपातिक सूचीमा त्रुटि सच्याउने र नाम फिर्ता लिने समयभित्रै आफूहरुको समानुपातिक सूची दर्ता गराइदिन आयोगसँग निवेदनसहित आग्रह गरेको हो । उनेपाले आग्रह गरे पनि यसबारे आयोगले कुनै आधिकारिक निर्णय भने दिएको छैन ।

यदि आयोगले समानुपातिक सूची दर्ता गराउन नमिल्ने भनेर निर्णय दिएको खण्डमा त्यसको विरुद्धमा अदालत जाने उनेपाको तयारी रहेको छ । उनेपाले समानुपातिक सूची बुझाउनका लागि ५० हजार तिरेर रसिदसमेत लिइसकेको थियो । उनेपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच एकता हुने समझदारीका कारण सामूहिक रुपमा समानुपातिक सूची बुझाइएको थियो । तर, रास्वपासँगको समझदारी भंग भएपछि उनेपाले आफ्नो दलको तर्फबाट समानुपातिक सूची दर्ता गराउने अभ्यास गरेको हो ।

आयोगले दलहरूलाई यही पुस १३ र १४ गते समानुपातिक तर्फको बन्दसूची बुझाउन समय दिएकोमा अहिले त्रुटि सच्याउने र नाम फिर्ता लिनेलगायतको कामहरु भइरहेको छ ।