काठमाडौँ, २८ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित महाधिवेशनको बन्दसत्र मङ्गलबारसम्मका लागि लम्बिएको छ । मङ्गलबार बिहान ९ बजेदेखि बन्दसत्र पुनः सुरु हुने र निर्वाचन प्रक्रिया अगाडि बढाइने विशेष महाधिवेशन प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलले बताए ।
कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि बन्दसत्रमा छलफल जारी रहेको र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने उनले बताए ।
दुई प्रतिवेदनमाथि समूहगत छलफल जारी रहेकाले मङ्गलबार प्रत्येक समूहले निष्कर्ष सुनाउने कार्यक्रम छ । “पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ । सोहीअनुसार प्रक्रिया अगाडि बढेको छ”, संयोजक पोखरेलले भने ।
उनले महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि नाम दर्ता गर्ने सङ्ख्या बढेको र हालसम्म ६३ प्रतिशत पुगेको जानकारी दिए ।
कांग्रसे संस्थापन समूहले भने विशेष महाधिवेशन स्वीकार गरेको छैन । हिजोदेखि सुरु भएको विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा उपस्थित हुने अपेक्षा गरिएको थियो । तर, सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतले विशेष महाधिवेशनलाई अपनत्व ग्रहण गरेका छैनन् । महाराजगञ्जमा आज बसेको संस्थापन समूहको बैठकपछि भने सभापति देउवा महामन्त्रीद्वयसँग संवादका लागि राजी भएका छन् ।




प्रतिक्रिया