कांग्रेस नेता बडूको घोषणाः चुनाव लड्दिनँ, आफ्नो सम्पूर्ण शक्ति र क्षमता पार्टीको उम्मेदवारलाई जिताउन लगाउँछु


काठमाडौं, २९ पुस । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि आफू उम्मेदवार नबन्ने बताएका छन् । दार्चुला कांग्रेसले उम्मेदवारको लागि बडूको एकल नाम सिफारिस गरेको थियो । कांग्रेस जिल्ला कार्यसमिति दार्चुलालाई पत्र लेख्दै नेता बडूले आफू प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नबन्ने औपचारिक जानकारी गराएका हुन् । बडूले २०४८ सालदेखि दार्चुलाबाट चुनाव लड्दै आएका थिए । उनी एकपटक समानुपातिक उम्मेदवारसमेत बनेका थिए ।

‘मेरो चाहना, स्पष्ट सुझाव र प्रस्तावको बाबजुद विस्तारित बैठकका उपस्थित सम्पूर्ण शुभेच्छुक साथीहरुले सर्वसम्मत रुपमा मलाई नै एकल उम्मेदवारको रुपमा प्रस्तावित गर्नुभएकोमा मप्रतिको यस सर्वसम्मत समर्थन र सदासायताका लागि पार्टी र पार्टीका सबै साथीहरुमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दै उक्त पदमा उम्मेदवारीका लागि पार्टीभित्र निरन्तर सक्रियताको साथ कार्यरत अन्य सक्षम र उपयुक्त साथीहरुमध्येबाट सुदृढ एकताका साथ सिफारिस गरी पार्टी केन्द्रमा प्रेषित गर्ने व्यवस्थाका लागि अनुरोध गर्दै आफू सो पदका लागि उम्मेदवार हुन नचाहेको विषयसमेत औपचारिक रुपमा जानकारी गराउन चाहन्छु,’– बडूले पत्रमार्फत भनेका छन् ।

साथै, निर्वाचनमा पार्टीको उम्मेदवारलाई विजयी गराउनका लागि आफ्नो सम्पूर्ण शक्ति र क्षमताको साथ सहकार्यमा सक्रिय रहने पनि उनले बताएका छन् ।