संस्थापन पक्षले आफ्नै रटान कायम राख्ने हो भने पार्टी फुट्छः कांग्रेस नेता आचार्य (भिडिओसहित)


काठमाडौं, २९ पुस । नेपाली कांग्रेसका नेता मधु आचार्यले महाधिवेशनले पाउने अधिकार विशेष महाधिवेशनलाई पनि रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता आचार्यले विशेष महाधिवेशनले पार्टीको नाम, चुनाव चिन्ह, झण्डालगायतका कुरासमेत परिवर्तन गर्न सक्ने बताएका हुन् ।

‘महाधिवेशनले पाउने अधिकार विशेष महाधिवेशनलाई पनि छ । यो विशेष महाधिवेशन, सर्वोच्च निकायको कत्रो ठूलो तागत हुन्छ भने– यदि विशेष महाधिवेशनले पार्टीको नाम, चुनाव चिन्ह, झण्डा परिवर्तन गर्छु भने पनि पाउँछ,’– उनले भने ।

नेता आचार्यले संस्थापन पक्षले आफ्नो रटान कायम राख्ने हो भने पार्टी विभाजन हुनसक्ने बताए । उनले विशेष महाधिवेशनले कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचन एक्लै लड्ने र कांग्रेसका कार्यकर्ताले आफ्नै प्रतिनिधिलाई भोट हाल्न पाउने कुराको सुनिश्चिता गर्ने पनि बताए ।

‘नेपाली कांग्रेस एकल चुनाव लड्छ । सबैसँग प्रेमिल र हार्दिक प्रतिस्पर्धा गर्छ । आफ्नो नीति, योजना, कार्यक्रम लिएर जनतामाझ जान्छ । १६५ वटै क्षेत्रमा कांग्रेस साथीहरुले कांग्रेसकै उम्मेदवारलाई भोट हाल्न पाउनुहुन्छ भनेर हामीले पहिला सुनिश्चित गरेका छौं । त्योबाट एक इन्च तलमाथि हुँदैन । यसलाई बटमलाइन मान्दा पनि हुन्छ,’– उनले भने । File Photo/RN