कांग्रेस विशेष महाधिवेशनः सभापतिको लागि तीन जनाले दाबी गर्दै


काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी रहेको छ । जारी महाधिवेशनमा आजदेखि पदाधिकारी र सदस्य चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ ।

हाल मनोनयन दर्ताको लागि फारम वितरणको कार्य भइरहेको एक निर्वाचन सदस्यले बताए । ती निर्वाचनको सदस्यका अनुसार हालसम्म सभापतिमा ३ जनाको दाबी पर्ने सम्भावना बढेको छ । ती सदस्यले बताएअनुसार अहिलेसम्म सभापतिका लागि तीन जनाले फारम लगेका छन् । उपसभापतिदेखि सहमहामन्त्रीसम्मको फारम भने एउटै रहेकाले कुन पदमा कति दाबी पर्छ भन्ने अहिले अनुमान गर्न नसकिने उनले बताए ।

‘अहिले फारम वितरणको काम भइरहेको छ । सभापतिका लागि ३ वटा फारम वितरण भएको छ । उपसभापतिदेखि सहमहामन्त्रीसम्मका लागि एउटै फारम छ । उक्त फारम चाहिँ अहिलेसम्म ५०/५१ वटा वितरण भएको छ,’– ती सदस्यले. भने ।