पार्टी एकता जोगाउन महामन्त्रीद्वय थापा र शर्मा लचक हुनुपर्छः कांग्रेस प्रवक्ता महत


काठमाडौं, २९ पुस । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टी एकता जोगाउनका लागि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा लचक हुनुपर्ने बताएका छन् । आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै डा.महतले एकता जोगाउनका लागि संस्थापन पक्ष अत्याधिक लचिलो भइसकेको बताएका हुन् । उनले महामन्त्रीद्वय थापा र शर्मा पनि लचक हुनुपर्ने आवश्यकता औंल्याएका हुन् ।

डा.महतले संस्थापन समूहको कारणले पार्टी नफुट्ने पनि बताए । उनले विभाजन कांग्रेस र नेपाली जनताको हितमा नरहेको बताए । ‘विभाजन हितमा छैन, यो हामीलाई राम्रो थाहा छ । त्यसकारण हामी कुराकानीमा अत्यधिक लचकताका साथ सबै पार्टीका साथीहरूलाई एकजुट बनाउन कोसिस गरिराख्या छौं,’– उनले भने ।

पार्टी एकताको लागि र आम निर्वाचन मुखमा एकताबद्ध भएर जानका लागि आफूहरु उदारताको साथ प्रस्तुत भइरहेको भन्दै उनले देश र जनतालाई मध्यनजर गरेर महामन्त्रीद्वय थापा र शर्मा थप लचक भएर आउनुपर्ने बताए ।