कांग्रेसको विवाद मिलाउने प्रयासः संस्थापन र विशेष महाधिवेशन पक्षधरबीच दोस्रो चरणको वार्ता जारी


काठमाडौं, २९ पुस । नेपाली कांग्रेस संस्थापन समूह र विशेष महाधिवेशन पक्षधरबीच दोस्रो चरणको वार्ता जारी रहेको छ । काठमाडौंको बालुवाटारमा दोस्रो चरणको वार्ता सुरु भएको हो । दोस्रो चरणको वार्तामा विशेष महाधिवेशन पक्षधरको तर्फबाट प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे सहभागी रहेको बताइएको छ । त्यसैगरी सभापति शेरबहादुर देउवा र मध्यमार्गी धारमा उभिएका डा.शेखर कोइरालाको तर्फबाट बालकृष्ण खाण, रमेश लेखक, जीवन परियार र डा.मिनेन्द्र रिजाल सहभागी छन् ।

संस्थापन समूह र विशेष महाधिवेशन पक्षधरबीच आज विहान पनि पहिलो चरणको वार्ता भएको थियो । सो वार्तामा दुवै पक्षले आ–आफ्नो प्रस्ताव राखेका थिए । उक्त वार्ता ठोस निष्कर्षमा पुग्न सकेका थिएन ।

पहिलो चरणको वार्तामा विशेष महाधिवेशन पक्षधरले अस्वभाविक माग राख्दा सहमति जुट्न नसकेको संस्थापन पक्षधरका नेताहरुको भनाइ छ । विशेष महाधिवेशन पक्षधरहरुले चुनावको टिकटमा पूर्णबहादुरको हस्ताक्षर हुनुपर्ने, विशेष महाधिवेशनको पूर्ण स्वामित्व पार्टीले लिनुपर्ने, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेका पार्टी पुनर्संरचना सम्बन्धी प्रस्ताव स्वीकार गर्नुपर्ने प्रस्ताव ल्याएका थिए ।

यता काठमाडौंको भृकुटीमण्डमा भने गत पुस २७ गतेदेखि विशेष महाधिवेशन भइरहेको छ । विशेष महाधिवेशनको कार्यतालिकाअन्तर्गत निर्वाचन समितिले नेतृत्व निर्वाचनको कार्यतालिकासमेत सार्वजनिक गरिसकेको छ । महाधिवेशन हलमा मधेश प्रदेशका प्रतिनिधिहरुले महामन्त्री थापालाई सभापति बनाउनुपर्ने भन्दै नाराबाजीसमेत गरेका थिए ।