गगन-विश्वलाई कारबाही गर्ने देउवाको तयारी


काठमाडौं, ३० पुस । नेपाली कांग्रेसको आज बस्ने केन्द्रीय समिति बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई कारबाही गर्ने बताइएको छ । पार्टीको हित विपरीतका गतिविधि गरेको भन्दै दुई महामन्त्रीलाई कारबाहीको तयारी भएको स्रोतले बतायो ।

यता काठमाडौंको. भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्री थापाले सभापति पदका लागि मनोनयन दर्ता गराइसकेका छन् । सभापतिमा थापाको मात्रै उम्मेदवारी परेको र मनोनयन दर्ताको समय पनि सकिएकाले उनी सभापति बन्ने निश्चित भएको छ ।

पार्टी एकताका लागि हिजोदेखि पटक–पटक संस्थापन पक्ष र महाधिवेशन पक्षधरहरु वार्ताको टेवलमा बसे पनि दुवै पक्षले आ–आफ्नो अडान नछाड्दा निष्कर्षमा पुग्न सकिएको छैन । अन्ततः कांग्रेस फुटको संघारमा पुगेको छ ।

आज (बुधबार) विहान सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वयबीच १ घण्टा लामो वार्ता भएको थियो । सो वार्ता पनि गगन–विश्वले आफ्नो अडान नछाडेको कारण निष्कर्षविहीन बनेको स्रोतले बतायो ।