काठमाडौं, ३० पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिइदिन भन्दै महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएका छन् ।
रास्वपा सभापति लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतहरुमा सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा रहेको छ । उनले सहकारी ठगीलाई यथावत राखेर सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिइदिन आग्रह गर्दै महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएको स्रोतले बतायो ।
सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा यथावत रहेको अवस्थामा सभापति लामिछानेले आसन्न प्रतिनिधिसभा निर्वाचन जिते पनि संसद् छिर्न पाउने छैनन् । सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा लागेको व्यक्तिले प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने भए पनि त्यस्तो व्यक्तिले जितेको खण्डमा स्वतः निलम्बनमा रहने कानूनी व्यवस्था रहेको छ ।
सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा यथावत रहेको अवस्थामा संसद् छिर्न नपाउने बुझेका लामिछानेले रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवारमा काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलाई अगाडि सारेका छन् । सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता भएर संसद् छिर्न पाउने अवस्था बनेको खण्डमा उनी आफैं प्रधानमन्त्रीको उम्मेदवार बन्ने तयारीमा रहेको स्रोतले बतायो ।




प्रतिक्रिया