काठमाडौं, ३० पुस । नेपाली कांग्रेसका नेता भरत खड्काले पार्टी विभाजन नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले विशेष महाधिवेशन पनि चलिरहेको र वार्ता पनि भइरहेको बताए । उनले वार्तामा कतिपय कुराहरु सहमति नजिक पनि रहेको र कांग्रेसलाई फुटबाट बचाउन सभापति शेरबहादुर देउवाले आफूलाई ठीक ढंगबाट अगाडि बढाउनुपर्ने बताए ।
‘कांग्रेस अहिले विभाजन भएको छैन । विशेष महाधिवेशन पनि चलिराखेकै छ । केही प्रक्रियाहरु अगाडि बढेको छ । वार्ता पनि चलिराखेकै छ । वार्तामा कतिपय कुराहरुमा सहमति नजिक पुगिएको कुरा पनि बाहिर आएको छ । हामीलाई अझैं पनि आशा छ– कांग्रेसलाई फुटबाट बचाउनका लागि सभापति शेरबहादुर देउवाले ठूलो छातीका साथ आफूलाई ठीक ढंगबाट अगाडि बढाउनुपर्छ,’– नेता खड्काले भने ।
साथै, उनले सभापति देउवाको सम्मानजनक तरिकाले बहिर्गमन होस् भन्ने आफूहरुले चोहेको बताए । आफूभन्दा ठूलो नेतालाई अपमानित ढंगले पठाउन खोजियो भने सबैको पालो त्यस्तै आउने उनको भनाइ छ । नेता खड्काले सभापति देउवाले वर्तमान परिस्थितिको समीक्षा गरेर निकास दिनुपर्ने बताए ।
नेता खड्काले विशेष महाधिवेशन पक्षधरले पार्टी विभाजन नगर्ने पनि दाबी गरे । विशेष महाधिवेशन विधिसम्मत र विधानसम्मत रहेको दाबी गर्दै उनले अब विधान केन्द्रीय कार्यसमितिले मान्नुपर्ने बताए ।




प्रतिक्रिया