संस्थापनसँग विशेष महाधिवेशन पक्षधरको ८ बुँदे शर्त


काठमाडौं, ३० पुस । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले वार्तामा बस्नका लागि संस्थापन समूहसँग विभिन्न ८ बुँदे शर्त अगाडि सारेको छ । विशेष महाधिवेशन पक्षधर र संस्थापन समूहबीच हिजोदेखि पटक–पटक वार्ता भइरहेको भए पनि निष्कर्षमा पुग्न सकिएको छैन ।

महाधिवेशन पक्षधरले कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने, विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने शर्त वार्ताको क्रममा राखेका छन् ।

त्यस्तै, आसन्न प्रतिनिधिसभा निर्वाचनमा जाँदैगर्दा प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने, चुनाव अगाडि कुनै दलसँग पनि गठबन्धन नगर्ने सुनिश्चित हुनुपर्ने, टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन हुनुपर्ने विशेष महाधिवेशन पक्षधरको माग छ ।

त्यस्तै, निर्वाचन केन्द्रीत हुनका लागि ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने, उम्मेदवारको टिकटमा सभापति देउवाले हस्ताक्षर गर्न नपाउने र विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीको रुपमा ग्रहण गर्नुपर्ने विशेष महाधिवेशन पक्षधरहरुले माग अगाडि सारेका छन् ।