काठमाडौं, ३० पुस । नेकपा (एमाले) का सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने गृहकार्य अत्यन्तै गम्भीर र चिन्ताजनक रहेको बताएका छन् । लामिछानेले सहकारी ठगी मुद्दालाई यथावत राखेर सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिइदिन माग गर्दै महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएका थिए ।
सोही विषयमा टिप्पणी गर्दै एमाले सचिव बस्नेतले भनेका छन्, ‘रवि लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा सरकारले गोप्य रूपमा फिर्ता गर्ने गृहकार्य अघि बढाएको खबर अत्यन्तै गम्भीर र चिन्ताजनक छ।’
सहकारी ठगीको अभियोग कायमै राखेर सांसद पद जोगिने, तर सांसद स्वतः निलम्बन हुने मुद्दा मात्रै हटाउने प्रयासले विदेशी दवाब र प्रभावमा बनेको वर्तमान सरकारको नियतमाथि पनि गम्भीर प्रश्न उठ्ने बताएका छन् ।
उनले यस्तो अवस्थालाई न्याय नभएर ‘अपराध लुकाउने षड्यन्त्र’ को संज्ञा दिएका छन् । नेता बस्नेतले लामिछानेले अपराध स्वीकारेको अवस्था देखिएको दाबीसमेत गरेका छन् । यस प्रकरणमा प्रधानमन्त्री सुशीला कार्की पनि ढाल बनेर उभिन खोजेको नेता बस्नेतको बुझाइ छ ।
सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिनेजस्ता चलखेल लोकतन्त्र, विधिको शासन र न्याय प्रणालीका लागि अत्यन्तै खतरनाक रहेको भन्दै नेता बस्नेतले अब जनदवाब र स्वतन्त्र न्यायालयको दृढ तथा निष्पक्ष भूमिका अपरिहार्य भएको बताएका छन् ।




प्रतिक्रिया