काठमाडौं, ३० पुस । नेपाली कांग्रेस संस्थापन समूहले विशेष महाधिवेशन पक्षधरसँग वार्ता र संवादका सबै ढोका बन्द भएको बताएको छ । आज (बु्धबार) बसेको केन्द्रीय समिति बैठकले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा, गगनकुमार थापा र सहमहामन्त्री फरमुल्लाह मनसुरलाई पाँच वर्षको लागि पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको छ ।
महामन्त्रीहरु थापा, शर्मा र सहमहामन्त्री मनसुरलाई कारबाही गरेसँगै संस्थापन समूहले वार्ता र छलफलका सबै ढोका बन्द भएको बताएको छ । नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै आफूहरु विशेष महाधिवेशन पक्षधरको प्रस्तावमा अत्यन्त लचक हुँदा पनि दुःखद् निर्णय गर्नुपर्ने अवस्थामा पुगिएको बताए ।
‘अब विशेष महाधिवेशन पक्षधरसँग वार्ता र संवाद हुन्छ कि हुँदैन ?’ भनी सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा नेता विश्वकर्माले भने, ‘यो विषय सबै बन्द भइहाल्यो । वार्ताका प्रस्तावहरु थिए । प्रस्तावहरुमा अत्यन्तै चलकताको साथ हामी संवाद गर्यौं । निष्कर्षमा पुग्न सकेनौं । अन्ततः यो दुःखद् निर्णयमा पुग्यौं ।’




प्रतिक्रिया