काठमाडौं, ३० पुस । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुराना गल्तीबाट पाठ सिकेर नयाँ ढंगले अगाडि बढ्ने बताएका छन् । आज (बुधबार) आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अब चुनाव मुखैमा आइसकेको र जनताको घर–घरमा गएर नेकपाले यो देशको नेतृत्व लिन चाहेको कुरा सुनाउन आग्रह गरे ।
‘हामी पुराना गल्तीबाट सिकेर नयाँ ढंगले अगाडि जान चाहेका छौं र यो देशको नेतृत्व लिन चाहेका छौं भन्ने कुरा जनतालाई बताउन जरुरी छ,’– उनले भने ।
साथै, प्रचण्डले काठमाडौं उपत्यकाका मूल समुदाय नेवार रहेको र धेरै नेवार समुदायका नेताहरु नेकपामा आवद्ध भइसकेको बताउँदै अब उपत्यकामा कुनै पनि पार्टीले दाबी नगर्दा हुने बताए । उनले नेकपामा क्षमतावान नेवार समुदायका नेताहरु समाहित भएको पनि बताए । यद्यपि नेकपा सबै जातजाति, क्षेत्र र समुदायको पार्टी रहेको पनि उनले प्रष्ट पारे ।
‘अब उपत्यकामा कसैले दाबी नगरे हुन्छ । क्षमता, नेताहरुको र समुदायको केन्द्रीकरण नेपाली कम्युनिष्ट पार्टीमा भयो । काठमाडौंको संरक्षणको लागि मूल समुदाय भनेको नेवार समुदाय नै हो । हामी सबै वर्ग, जाति, क्षेत्र समुदायको सहकार्य पनि त्यतिकै आवश्यकता छ । हामीलाई काठमाडौं उपत्यकाको समस्याबारेमा जानकारी छ,’– उनले भने ।





प्रतिक्रिया