काठमाडौं, ३० पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनले सर्वसम्मतिमा नेतृत्व चयन गर्ने भएको छ । महाधिवेशनले पार्टीको महामन्त्रीमा गुरु घिमिरे र प्रदीप पौडेललाई चयन गरेको स्रोतले बतायो ।
निर्वाचन समितिका एक अधिकारीले बताएअनुसार सर्वसम्मतिमा नेतृत्व चयन गर्ने जिम्मा नेताद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई दिइएको छ । ‘सर्वसम्मतिको प्रयास भइरहेको छ । नेतृत्व चयनको जिम्मा गगन थापा र विश्वप्रकाश शर्मालाई दिइएको छ । महामन्त्रीमा गुरु घिमिरे र प्रदीप पौडेलको नाम फाइनल भएको छ,’– उनले भने ।
अन्य पदाधिकारी टुङ्गो लगाउने विषयमा नेताद्वय थापा र शर्मा छलफलमा रहेको बताइएको छ । कांग्रेसको विधानमा दुई महामन्त्री रहने व्यवस्था रहेको छ । उपसभापतिमा भने फरमुल्लाह मनसुरको नाम टुङ्गो लागेको पनि बताइएको छ ।




प्रतिक्रिया