वरिष्ठ अधिवक्ता खनालको दाबीः ‘कांग्रेसको विशेष महाधिवेशन कानून, विधान र संविधानसम्मत छ’


काठमाडौं, ३० पुस । वरिष्ठ अधिवक्ता यदुनाथ खनालले नेपाली कांग्रेसको विशेष महाधिवेशन वैद्य, कानूनसम्मत र संविधान र विधानसम्मत रहेको दाबी गरेका छन् । आज (बुधबार) आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टीको सर्वोच्च निकाय नै महाधिवेशन रहेकाले दुई तिहाइ बहुमतको उपस्थितिमा भएको विशेष महाधिवेशनले वैद्यता पाउने बताएका हुन् । विशेष महाधिवशेन केन्द्रीय समितिको निर्णयमा मात्रै बोलाउन सकिने भन्ने तर्कमा सत्यता नरहेको पनि उनले बताए ।

‘दुई तिहाइ बहुमतको महाधिवेशन प्रतिनिधि उपस्थित हुनुभयो । उहाँहरुले एउटा निर्णय गर्नुभयो । पार्टीको सबैभन्दा ठूलो निकाय नै त्यही हो । महाधिवेशन भनेको पार्टीको सर्वोच्च अंग हो । त्यसैले यो महाधिवेशन सम्पन्न हुँदैछ । पार्टीका महामन्त्रीहरुले उद्घाटन गर्नुभयो । यो विशेष महाधिवेशन कानून, विधान र संविधानसम्मत छ । बोलाउनुपर्ने प्रक्रियाबमोजिम छ । केन्द्रीय समितिले नै बोलाउनुपर्छ भन्ने छैन । मैले बोलाउनुपर्थ्यो भन्न केन्द्रीय समितिले भन्न मिल्दैन,’– उनले भने ।

उनले संस्थापन पक्षले नेताहरु गगनकुमार थापा, विश्वप्रकाश शर्मा र फरमूल्लाह मनसुरलाई गरेको कारबाहीले वैद्यता प्राप्त नगर्ने बताए । संस्थापन पक्षले नेतात्रयलाई सुनुवाइको मौका नै नदिइ कारबाहीको निर्णय गरेको र केन्द्रीय समिति पुनरावेदन सुन्ने निकाय रहेकाले कारबाहीको प्रक्रिया नै नमिलेको बताए ।

‘सुनुवाइको मौका दिएर स्पष्ट आधार र कारण नखोली प्रतिशोधको भावना राखेर कारबाही गर्न पाइँदैन । नेपाली कांग्रेसको विधानबमोजिम कारबाही गर्ने हो भने अनुशासन समितिले स्पष्टीकरण सोधेर कारबाही गर्न पाउँछ । अनुशासन समितिको निर्णयउपर केन्द्रीय कार्यसमितिमा पुनरावेदन लाग्छ । पुनरावेदन सुन्ने निकायले पहिला नै कारबाही गर्न पाउँछ,’– उनले भने ।