जनताको मुक्ति हाम्रो मूल चाहना हो, त्यो लक्ष्य नेकपाले मात्रै पूरा गर्न सक्छ भन्ने विश्वासका साथ एकतामा आएका हौंः सुमन सायमी


काठमाडौं, ३० पुुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) बीच आज औपचारिक रूपमा पार्टी समायोजन भएको छ । काठमाडौंमा कार्यक्रमका बीच दुवै पार्टीबीच समायोजनसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल तथा राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) का वरिष्ठ उपाध्यक्ष सुमन सायमीले हस्ताक्षर गरेका थिए ।

एकतामार्फत नेकपामा आएका सायमीले विचार, सिद्धान्त र जनताको दीर्घकालीन हितलाई केन्द्रमा राखेर नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेको बताए । उनले भावनात्मक निर्णय, भीडको दबाब वा क्षणिक स्टन्टभन्दा माथि उठेर आफूहरूले राजनीतिक निर्णय गरेको बताए ।

“हामी भावना, भीड वा स्टन्टका आधारमा होइन, विचार, सिद्धान्त र जनताको दीर्घकालीन हितका आधारमा यहाँ आएका हौँ । जनताको मुक्ति हाम्रो मूल चाहना हो र त्यो लक्ष्य नेपाली कम्युनिष्ट पार्टीमार्फत मात्रै पूरा हुन सक्छ भन्ने विश्वासका साथ हामी यो समायोजनमा सहभागी भएका हौँ,” उनले भने ।