गगन थापा नेतृत्वको कांग्रेस अधिकारिक होः जगदीशनरसिंह केसी (भिडिओसहित)


काठमाडौं, १ माघ । नेपाली कांग्रेसका नेता जगदीशनरसिंह केसीले गगनकुमार थापा नेतृत्वको कांग्रेस नै आधिकारिक रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले शेरबहादुर देउवा अब निवर्तमान सभापति भइसकेको बताए । नेता केसीले थापा नेतृत्वको कांग्रेस अब संस्थापन पक्ष भइसकेको बताए ।

‘कांग्रेस फुटेको छैन । आधिकारिक कांग्रेस यो हो । हिजोको १४औं महाधिवेशनको केन्द्रीय समिति फुटेको भए एउटा कुरा हो । विशेष महाधिवेशनले केन्द्रीय समिति निर्माण गरेको छ । त्यो केन्द्रीय समिति नै आधिकारिक हो । यो संस्थापन पक्ष हो । आजदेखि संस्थापन पक्ष गगन थापाको नेतृत्व हो । उहाँहरु (देउवा) इतर पक्ष हुन्,’– उनले भने ।

नेता केसीले शेरबहादुर देउवाले ‘मै सभापति, मै कांग्रेस’ भन्दा विकल्प नदेखेको बताए । देउवा निरङ्कुश ढंगले अगाडि बढ्दा विशेष महाधिवेशनबाट विष्फोट भएको उनको बुझाइ छ । विशेष महाधिवेशनको माग गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेकोमा देउवाले ५०/६० जनालाई पैसा फिर्ता लिन दवाब दिएर धम्क्याएको उनले बताए ।