शेखरको आह्वानः हामी घर फर्कौं, सबैको वीन-वीन अवस्थामा अगाडि बढ्न सक्छौं


काठमाडौं, १ माघ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सबैलाई घर फर्किन आग्रह गरेका छन् । उनले वीन–वीन अवस्थामा सबै जना अगाडि बढ्न सकिने भन्दै कांग्रेसलाई एक ढिक्का बनाएर अगाडि बढ्न आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘पार्टीभित्र गर्नुपर्ने सुधारका प्रकृया रोकिने छैनन् । म आह्वान गर्छू–हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं । यहाँ जीतहार कसैको छैन । सबैको वीन–वस्न अवस्थामा हामी अगाडि बढ्न सक्छौँ ।’

साथै, उनले कांग्रेसलाई एकतावद्ध राख्ने भागिरथ प्रयास सफल हुन नसकेको पनि बताएका छन् । यसको पछाडि को दोषी को निर्दोष भन्ने कुरा गरेर राष्ट्रिय राजनीतिलाई थप धुमिल पार्न आफूले नचाहेको बताउँदै उनले भनेका छन्, ‘हामी सबै कही न कही चुकेको कुरा स्विकार्न मलाई कुनै संकोच छैन ।’

उनले यसबीचमा घटेका कैयन घटनाहरुको साक्षी आफू रहेको उल्लेख गर्दै यस दुर्घटनाको वस्तुपरक समीक्षा र यसमा व्यक्तिको भूमिकाबारे मूल्याङन गर्ने जिम्मा इतिहासलाई सुम्पिएको पनि बताएका छन् ।

नेता डा.कोइरालाले दृष्यमा देखिएका र नदेखिएका अनेकन् अन्तरविरोधबाट कांग्रेस गुज्रिन पुगेको पनि उल्लेख गरेका छन् । राजधानीमा षडयन्त्रको अनेकन् राष्ट्रिय र अन्तराष्ट्रिय तानाबाना बुनिएका र कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई आफूहरुले रोक्न नसकेको उनको भनाइ छ ।

कांग्रेस एक भएर आसन्न निर्वाचनमा होमिनु पर्छ भन्नेमा सबैको ईमान्दार प्रयास हुँदाहुँदै पनि त्यसो हुन नसकेको उनको बुझाइ छ । अब कांग्रेसका सामु आसन्न निर्वाचनमा जाने र आठ दशक लामो कांग्रेस इतिहासको गौरवलाई जोगाउने जिम्मेवारी रहेको पनि उनले बताएका छन् ।

उनले यस कठिन घडीमा कांग्रेसको संगठनात्मक उर्जा प्रस्फुटन भएर मात्र इतिहासले र अग्रज नेताहरुले दिएको जिम्मेवारी पूरा गर्न सकिने बताएका छन् । नेता डा.कोइरालाले यसका लागि सम्पूर्ण कांग्रेसबीच एकताको खाँचो अपरिहार्य रहेको औंल्याएका छन् ।