देउवाबाट लोकतन्त्र र कांग्रेसको रक्षा हुन सक्दैनः राजनीतिक विश्लेषक आचार्य (भिडिओसहित)


काठमाडौं, २ माघ । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेपाली कांग्रेसलाई कमजोर पारेर डेमोक्रेशीलाई सिध्याउने खेल भइरहेको टिप्पणी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले चुनावको मुखैमा कांग्रेस विभाजित हुनु दुःखद् रहेको बताएका हुन् । उनले कांग्रेस फुट्नुमा शेरबहादुर देउवा पक्षधर र गगन थापा पक्षधर दुवै दोषी रहेको उनले बताए । दुवै पक्षले कांग्रेसीहरुलाई रुवाएको उनको भनाइ छ । यो विभाजनले कांग्रेसको भावनात्मक विभाजन तलसम्म भएको उनले बताए ।

‘कांग्रेसलाई कमजोर पारेर डेमोक्रेशीलाई सिध्याउने खेल अगाडि ल्याउने कोशिस गरिँदैछ । त्यो पनि चुनावको मुखैमा । चुनावको मुखमा कांग्रेस फुट्दा के हुन्छ ? त्यसको परिणाम सबैलाई थाहा छ । यसमा दुवै दोषी छन् । कांग्रेसीहरुको भावनालाई दुवै पक्षले सम्बोधन गर्न सकेनन् । कांग्रेसीहरुको आत्मालाई दुवैले रुवाएका छन्,’– उनले भने ।

भावनात्मक रुपमा कांग्रेस विभाजन भइसकेको भए पनि प्राविधिक रुपमा कांग्रेस विभाजन गराउने भूमिका निर्वाचन आयोगको रहेको उनले बताए । उनले कांग्रेस विभाजन सेटिङमा हुन गइरहेको आशंका व्यक्त गरे । साथै, उनले शेरबहादुर देउवाबाट नेपालको लोकतन्त्र र नेपालीकांग्रेसको रक्षा हुन नसक्ने पनि उनले बताए ।

‘शेरबहादुृरजीबाट चाहिँ नेपालको लोकतन्त्रको र नेपाली कांग्रेसको रक्षा हुन सक्दैन । अगाडि बढ्न सक्दैन, शेरबहादुरजीबाट यो देश पनि चल्न सक्दैन । यो मैले सात वर्षदेखि भन्दै आएको हो । उहाँले राजालाई डेमाक्रेशी बुझाएको विर्सेर उहाँको चाकडी गर्नेहरु प्रशस्त भए,’– उनले भने ।