कांग्रेसको वर्तमान सभापति देउवा हुनुहुन्छ, उहाँ नेतृत्वको कार्यसमिति नै केन्द्रीय समिति होः मीन विश्वकर्मा (भिडिओसहित)


काठमाडौं, २ माघ । नेपाली कांग्रेसका नेता एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टीको आधिकारिक सभापति शेरबहादुर देउवा नै रहेको बताएका छन् । नेपाली रेडियो नेटर्वको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता विश्वकर्माले कसैलाई नेतृत्वमा पुग्न मन लाग्यो भनेर विधान विपरीत गरिएको भेलाबाट कसैले म सभापति भएँ भनेर गरेको घोषणा मान्य नहुने बताएका हुन् ।

‘कसैलाई नेतृत्वमा पुग्न मन लाग्यो भनेर विधि, विधानभन्दा पर गएर आफूखुसी गरिएको भेलाबाट कसैले सभापति भएँ भन्यो भने त्यसलाई हामीले दुइवटा सभापति, दुइवटा समिति भनेर मान्न हँुदैन । नेपाली कांग्रेसको वर्तमान सभापति शेरबहादुर देउवा हुनुहुन्छ । उहाँको नेतृत्वको कार्यसमिति नै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति हो । यसमा कोही पनि दिग्भ्रमित हुन आवश्यक छैन,’– उनले भने ।

कांग्रेसको विधानको धारा १७ (२) ले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा वा केन्द्रीय समितिले आवश्यक ठानेमा केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन बोलाउनुपर्ने भन्ने व्यवस्था रहेको उनले बताए । नेता विश्वकर्माले विशेष महाधिवेशन केन्द्रीय समितिले बोलाउनै पर्ने, कसैले माग गर्नेबित्तिकै सभा नहुने बताए । सभाको अध्यक्षता हुनुपर्ने र विधानले महाधिवेशनको सभापतित्व केन्द्रीय सभापतिले गर्ने र महामन्त्रीले महाधिवेशनको कार्यक्रम सञ्चालन गर्नुपर्ने विधानमा व्यवस्था रहेको उनले बताए ।

उनले कांग्रेसको सभापति चयनका लागि खसेको मतको ५१ प्रतिशत ल्याउनुपर्ने र ४० प्रतिशतलाई सर्वसम्मत मान्न नसकिने उनले बताए । नेता विश्वकर्माले विशेष महाधिवेशन रीतपूर्वक पनि नरहेको दाबी गरे ।