काठमाडौं, २ माघ । नेपाली कांग्रेसका कार्यवाह सभापतिलगायत सभापति शेरबहादुर देउवा पक्षका नेता तथा कार्यकर्ताहरु आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोगमा पुगेका छन् । आयोगमा पुगेका कार्यवाहक सभापति खड्काले कोही व्यक्ति वा समूहले पार्टीको महाधिवेशन डाक्न नपाउने दाबी गरे । उनले केन्द्रीय समितिलाई मात्रै महाधिवेशन डाक्ने अधिकार रहेको बताए ।
‘केन्द्रीय कार्यसमितिबाहेक कुनै पनि निकाय वा व्यक्तिले पार्टीको सभापति, कार्यवाहक सभापति, पदाधिकारी, सदस्य व्यक्तिले वा कुनै समूहले नेपाली कांग्रेसको कुनै पनि तहको, कुनै पनि प्रकृतिको अधिवेशन गर्ने अधिकार राख्दैन,’– उनले भने ।
कार्यवाहक सभापति खड्काले लोकतन्त्र र संविधानमाथि ठूलो षड्यन्त्र देखिएको समेत बताए । उनले कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति नै आधिकारिक रहेको जिकिर गरे । कार्यवाहक सभापति खड्काले कांग्रेसको कुनै महाधिवेशन नै नभएको दाबी गरे ।
सभापति देउवाको नेतृत्वमा रहेको १४औँ महाधिवेशनबाट निर्वाचित सिङ्गो केन्द्रीय कार्यसमिति, पार्टीका प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, निर्वाचन क्षेत्रीय कार्यसमिति, गाउँ कार्यसमिति, पालिका कार्यसमिति सबै आफूहरुसँग रहेको कार्यवाहक सभापति खड्काले बताए ।




प्रतिक्रिया