भक्तपुरमा सुवाल र बस्नेत पुरानै उम्मेदवार


भक्तपुर, ७ माघ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि भक्तपुर क्षेत्र नं १ र क्षेत्र नं २ मा पुरानै उम्मेदवार अनुहार दोहोरिएका छन् । क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले चौथोे पटक प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् भने क्षेत्र नं २ बाट नेकपा (एमाले) का महेश बस्नेतले यसवर्ष तेस्रो पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नं १ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २५ जनाले उम्मेदवारी दिँदा नेपाल मजदुर किसान पार्टीबाट सुवाल पुरानै उम्मेदवार हुन् भने क्षेत्र नं २ मा ३२ जनाले उम्मेदवारी दर्ता गराउँदा एमालेका बस्नेत पुरानै उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका छन् । यहाँ अधिकांश उम्मेदवार नयाँ छन् ।

भक्तपुर क्षेत्र नं १ मा २०४८, २०५१, २०५६, २०६४ र २०७० सालमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे विजयी भएका थिए । विसं २०७४ मा उनले पार्टीमा पुस्तान्तरण गर्ने भन्दै उम्मेदवारी नदिने निर्णय गरेपछि नेमकिपाबाट सुवाल २०७०, २०७४ र २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

नेकपा (एमाले) बाट उम्मेदवार भएका सोम मिश्र यसअघि चाँगुनारायण नगरपालिकाको प्रमुख र नेपाली काँग्रेसबाट उम्मेदवार भएका किरण न्यौपाने नेपाल बार एशोसिएशन भक्तपुरको अध्यक्ष भइसकेका छन् ।

भक्तपुर क्षेत्र नं २ मा एमालेका महेश बस्नेतले यसवर्ष तेस्रो पटक उम्मेदवारी दिएका हुन् । यसअघि २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट उनी उम्मेदवार भएका थिए । बस्नेतले नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई पराजित गरेका थिए । विसं २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका दुर्लभ थापा विजयी भए । उनीसँग एमालेका बस्नेत पराजित भएका थिए । यसपटक यहाँ नेपाली कांग्रेसबाट पत्रकार कविर राणाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजिव खत्री तथा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट रामप्रसाद सापकोटा (दिपशिखा) ले उम्मेदवरी दर्ता गराएका छन् । रासस