रुपन्देही ५ बाट केशव भट्टराईको उम्मेदवारी


रुपन्देही,  ७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही निर्वाचन क्षेत्र नम्बर–५ बाट युवा कानुन व्यवसायी तथा सामाजिक अभियन्ता केशव भट्टराईले उम्मेदवारी दर्ता गरेका छन्।

उम्मेदवारी दर्ता गर्दै भट्टराईले विधि शासन, सुशासन, युवाको सहभागिता र परिणाममुखी राजनीतिलाई आफ्नो मुख्य एजेन्डा बनाउने बताए। लामो समयदेखि कानुन, शासन सुधार र युवामुखी अभियानमा सक्रिय रहँदै आएका भट्टराईले संसदलाई केवल शक्ति प्रदर्शनको थलो होइन, जनताको समस्याको समाधान गर्ने संस्थागत मञ्च बनाउने प्रतिबद्धता व्यक्त गरे।

“म मेरो सार्वजनिक सेवा र शासनसम्बन्धी दृष्टिकोणलाई जनताको सार्वभौम निर्णयअगाडि प्रस्तुत गर्दैछु,” उनले भने, “रुपन्देही–५ लाई समावेशी विकास, रोजगारी, शिक्षा र जवाफदेही प्रतिनिधित्वको उदाहरण बनाउने मेरो लक्ष्य हो।”

उनका अनुसार स्थानीय मुद्दा, कृषकको समस्या, सीमा क्षेत्रका चुनौती, युवाको रोजगारी र सार्वजनिक सेवाको प्रभावकारिता उनका प्राथमिक एजेन्डा रहनेछन्। उनले जनप्रतिनिधि भएपछि नियमित रूपमा मतदातासँग प्रत्यक्ष संवाद र जवाफदेहिता कायम गर्ने प्रतिबद्धतासमेत जनाए।

स्थानीय बुद्धिजीवी, युवा र नागरिक समाजका प्रतिनिधिहरूले भट्टराईको उम्मेदवारीलाई नयाँ सोच र वैकल्पिक राजनीतिक अभ्यासतर्फको संकेत का रूपमा लिएका छन्।

रुपन्देही–५ मा यसपटकको निर्वाचनलाई युवामुखी नेतृत्व र नीतिगत बहसको महत्वपूर्ण परीक्षा मानिएको छ।