रुकुम पूर्वलाई समाजवादी क्रान्तिको आधार इलाका बनाउँछुः प्रचण्ड


काठमाडौं, ७ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १० वर्षे जनयुद्धको आधार इलाकाको रुपमा रहेको रुकुम पूर्वलाई अब समाजवादी क्रान्तिको आधार इलाकाको रुपमा विकास गरिने बताएका छन् । आज (बुधबार) आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले रुकुम पूर्वलाई समाजवादी क्रान्तिको आधार इलाका बनाइने बताएका हुन् ।

‘जनयुद्धको आधार भूमि रुकुम पूर्वलाई अब समाजवादी क्रान्तिको आधार इलाका बनाएर अगाडि बढ्नका लागि र केही समय पहिला सहिद र सहिद परिवारको सपनाहरु धमिलिएको हो कि जस्तो देखिएको थियो, त्यसलाई पुनर्ताजगी गरी आशा र भरोसा दिन रुकुम पूर्वबाट मेरो उम्मेदवारी हो,’– प्रचण्डको भनाइ उदृत गर्दै पत्रकार सर्जना कार्कीले रिपोर्टर्स नेपाललाई भनिन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन गर्न ५ गते रुकुम पूर्व पुगेका प्रचण्ड आज काठमाडौं फर्किएका छन् । तस्बिरः सर्जना कार्की/रुकुम पूर्व