कार्की आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय


काठमाडौं, ८ माघ । सरकारले भदौ २३ र २४ गतेको घटना छानविन गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले कार्की आयोगको म्याद थप गर्नेलगायत अन्य निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले बताए ।

‘भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको छानविन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने,’– गृहमन्त्री अर्यालले भने ।

त्यसैगरी, सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पोखरा खण्ड आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि भएको छ ।

त्यस्तै, आजको मन्त्रिपरिषद्को बैठकले गृहमन्त्री ओम प्रकाश आर्याललाई नेपाल सरकारको प्रवक्तासमेत तोकेको छ ।